डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वभरका हाँस्य कलाकार, नेपालका मनोज गजुरेल

नेता, प्रधानमन्त्री, कलाकार अथवा समाजका चर्चित र शक्तिशाली मानिसहरूको नक्कल गरेर मनोरञ्जन प्रदान गर्नु हास्य कलाकारिताको एउटा पाटो हो । त्यसो भए संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्ने कलाकार कति होलान् त ?

सिबिएस न्युज डट कमले त्यस्ता कलाकार र व्यक्तिहरूको सूची सङ्कलन गरी प्रकाशन गरेको छ जसमा नेपालका हास्य कलाकार मनोज गजुरेल पनि परेका छन् । सिबिएस न्युजडट कमले एएफपीले प्रकाशन गरेको प्रकाश माथेमाले खिचेको मनोज गजुरेलको फोटो राखेको छ।

Advertisement

ट्रम्पको नक्कल गर्ने पहिलो नम्बरमा एलेक बाल्डविन छन् । उनी ‘सटर्डे नाइट लाइभ’ कार्यक्रममा ट्रम्पको नक्कल गरेर हँसाउँछन् । हास्य कार्यक्रम ‘द प्रेसिडेन्ट सो’ मा ट्रम्पको भूमिकामा एन्थोनी एटमेनुइक देखिन्छन् । उनले अन्य थुप्रै हास्य कार्यक्रममा ट्रम्पको भूमिका निर्वाह गरेका छन् ।

रबर्ट इन्स्लर अर्का व्यक्ति हुन् जसले सन् २००५ देखि ट्रम्पको नक्कल गर्दै आएका छन् । उनी ट्रम्पको हाउभाउको फोटो खिचाउने तथा भाषण गर्ने काममा कुशल छन् । उनी आपूलाई ट्रम्पको दुरुस्त नक्कल गर्न सक्ने कलाकार भएको दाबी गर्छन् । लास भेगासमा भएको रिल अवार्डमा इन्स्लरले दुरुस्त नक्कल गर्न सक्ने संसारकै पहिलो नम्बरको कलाकारको रूपमा सम्मान पाएका थिए । उक्त कार्यक्रममा पनि उनले ट्रम्पको नक्कल गरेका थिए।

सिबिएस न्यूज डट कमले ट्रम्पको नक्कल गरेर ख्याति कमाएका अन्य चर्चित कलाकारमा मार्सेल फोरेस्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओस्मान, दारियो ब्योन्टिनी, जोन डी डोमेनिको, इराक ज्याकम्यान, टोड वेर्टालिक, डन कोनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस र राफेल एल्मोडोभर छन् ।

सिबिएस न्युज डट कमले राखेको ट्रम्पको नक्कल गर्ने १८ मध्ये एकको परिचय खुलेको छैन । ती व्यक्ति टाइम्स स्क्वायरमा ३ जुलाई २०१७ मा ट्रम्पको नक्कल गरिरहेको भेटिएका थिए । त्यसपछि उनको फोटो सञ्चार माध्यममा आएको थियो ।

ट्रम्पको नक्कल गर्नेमा कलाकारदेखि उनका समर्थक र विरोधी समेत छन् । चुनावी अभियानमा केहीले उनको समर्थनमा ट्रम्प बनेका थिए । एउटा र्यालीमा आफ्नो रूपमा इराक ज्याकम्यानलाई देखेपछि ट्रम्पले भनेका थिए, ‘त्यहाँ हेर ।’ त्यसपछि उनले इरिकलाई भनेका थिए, ‘ओ नो । मलाइ भन ट्रम्प त्यस्तो देखिँदैनन् ।’

फोटो: मनोज गजुरेलको फेसबुकबाट

More News last news
Loading...