काठमाडौं। विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ । वसन्त रेग्मीले जिम्बाबेको पहिलो विकेट लिएका छन्।
रेग्मीले जिम्बाबेका ओपनर सेफस झुवाओलाई आठौं ओभरको पहिलो बलमा एलबीडब्लु आउट गरेका हुन् । यद्यपि जिम्बाबेको ब्याटिङ निकै आक्रमक छ ।
सुरुवातमै जिम्बावेका ब्याट्सम्यान नेपाली बलरमाथि हावी भएका छन् । ओपनर बलरका रुपमा सोमपाल कामीले बलिङ गरे । उनले पहिलो ओभरमा ५ बल डट फाले पनि एक बलमा भने जुवाओले छक्का प्रहार गरे ।
त्यस्तै दोस्रो ओभर कप्तान पारस खड्का आफै बलिङ गर्न आए तर यो ओभर नेपालका लागि निकै महंगो सावित भयो । पारसले एकै ओभरमा १६ रन दिए । त्यस्तै तेस्रो ओभर सोमपालले १८ रन खर्चिए । अरु बलरभन्दा डेब्यू गरेका ललित राजवंशी कम खर्चिला देखिएका छन् उनले दुई ओभर बलिङ गर्दै १५ रन दिएका छन् । सोमपाल कामीले २ ओभरमा २४ रन, पारस खड्काले एक ओभरमा १६ रन, वसन्त रेग्मीले २ ओभरमा २२ रन दिएका छन् ।
टी–ट्वेन्टी फर्म्याटमा जस्तै जिम्बावेका ब्याट्म्यानले नेपाली बलरलाई चुटिरहेका छन् । नौ ओभरको समाप्तिमा जिम्बावेले एक विकेटको क्षतिमा ७९ रन बनाएको छ ।
कुनै पनि फर्म्याटको क्रिकेटमा नेपालले जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो । अनुभवी खेलाडीहरुको बाहुल्य रहेको टेष्ट मान्यताप्राप्त टोली जिम्बावे नेपाली टोलीका लागि कठिन चुनौति हो ।
जिम्बावेको टोलीमा लामो समयदेखि खेलिरहेका ब्रेण्डन टेलर, ह्यामिल्टन मासाकाद्जा, सिकन्दर राजा, ग्रेम क्रिमरजस्ता खेलाडी छन् । यता नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य छ । हालै सम्पन्न डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली उच्च लयमा छ ।
जिम्बावेलाई घरेलु मैदानको साथ हुनेछ भने पहिलो खेलको प्रदर्शनले समग्र प्रतियोगितामै असर पर्ने भएकाले जिम्बावेविरुद्ध उत्रँदा नेपाली टोली सजग बन्नुपर्ने देखिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
