विमानस्थल तोडफोड गर्ने सांसद साह पक्राउ

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्। ओखलढुंगा जान लागेका साहलाई आज महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन विमास्थलबाट पक्राउ गरेको हो।

सांसद साहले सोमबार काठमाडौँ आउने क्रममा जहाज उडाउन ढिला गरेको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा तोडफोड गरेका थिए। तोडफोडपछि उनलाई जहाजले काठमाडौँ ल्याउन मानेको थिएन। तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौँ आएका थिए। साह सर्लाही १ बाट निर्वाचित सांसद हुन्।

Advertisement

आज नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो।

के छ कानुनी व्यवस्था ?
गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ। त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण, धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पुर्याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ।

सो किसिमको अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था छ।

सो ऐन अन्र्गत अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्ने छन् र निजहरुले पक्राउ गरी सकेपछि तुरुन्त प्रहरीलाई बुझाइ दिनुपर्ने छ।

हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी विमानस्थलमा सरकारी वा गैरसरकारी कर्मचारी हवाई यात्रु लगायत कुनै पनि व्यक्तिलाई हातहतियार लिइ वा नलिइ डर, धम्की, प्रलोभन वा कब्जामा लिई अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा बाधा उत्पन्न गराउने कार्य गरेकोमा हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराध मानिनेछ।

More News last news
Loading...