काठमाडौं । नेपालीहरुको ठूलो चाड बडादशैंको दोस्रो दिन सोमबार आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाआजा गरिदै छ।
ब्रहमचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्यमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने ठानिन्छ। ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ।
माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ। ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन भने दोस्रो हातमा कमण्डलु लिएकी छन। कमलले सच्चिदानन्द ब्रह्मस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको अर्थ संकेत गरेको छ। देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रह्मचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन श्रवणको क्रम पनि चलिरहेको छ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ।
नवरात्रका नौँ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृामचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
