नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ।

बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले  जानकारी दिए। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ।

Advertisement

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतम बताउछन्। यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य रोप्ने पनि चलन छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ। यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ।

More News last news
Loading...