काठमाडौँ। निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडामा सेवा दिने भएको छ। कम्पनीका अनुसार यो १२ असोज २०७६ बाट लागु हुने भएको छ।
प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छूटको घोषणा गरेपछि पहिलो पटक नेपाल एयरलाइन्सले ५० प्रतिशत छूट घोषणा गरेको थियो।
श्री एयरलाइन्सले सांकेतिक रुपमा उक्त घोषणाको समर्थन गर्दै जेष्ठ नागरिकका लागि छूटको अफर ल्याएको हो। मानन्धरका अनुसार यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने भएको छ।
सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने भएको छ। चेक इनका बखत उमेर खुल्न नसके छूट नपाइने कम्पनीले उल्लेख गरेको छ।
यो छुट श्री एयरलाइन्सले बेलाबेला सार्वजनिक गर्ने अफर फेयरमा भने लागु नहुने बताएको छ। टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
