काठमाडौँ । नेपाली कांग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ। सोमबार तीन वटा प्रदेशमा खट्ने प्रतिनिधिको टुंगो लगाएको कांग्रेसले मंगलबार सातै प्रदेशको प्रतिनिधिको टुंगो लगाएको हो।
सोमबार प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा खटिने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको थियो । मंगलबार प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको टुंगो लगाएको हो।
यो सँगै सातै प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। मंगलबारदेखि सुरु हुन लागेको जागरण अभियानमा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ जना केन्द्रीय प्रतिनिधि परेका छन् भने १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा भने हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर २ जनाका दरले प्रतिनिधि खटाइएको छ।
केन्द्रीय प्रतिनिधिमा पूर्वमन्त्री, पूर्व सांसद, पूर्व सभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वारहरु रहेका छन् । कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्नेछ। कांग्रेसले यसअघि गएको वैशाख २५ देखि जेठ २५ सम्म एक महिना पहिलो चरणको अभियान सञ्चालन गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
