मेलम्ची आयोजनाको बाँकी काम चिनियाँ कम्पनीलाई दिने तयारी

गत पुस १ गते इटालियन कम्पनी सीएमसी आफैँ समस्यामा परेपछि काम अलपत्र छाडेर भागेको आठ महिनापश्चात् बल्ल सरकारले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिन लागेको छ।

बोलपत्र आह्वान गर्दा सबभन्दा कम रकममा काम सक्छु भनेकाले उसलाई ठेक्का दिन लागिएको बताइएको छ। अहिले मेलम्चीमा बाँकी रहेको मुख्य कार्य भनेको हेडवर्क्स तथा सुरुङका केही अन्तिम वा फिनिशिङका काम छन्। हेडवर्क्स भनेको नदीबाट पानी फर्काएर सुरुङभित्र ल्याउने काम हो जसका लागि खोलामा सानो बाँध बनाउनुपर्छ।

Advertisement

त्यसका अतिरिक्त काठमाण्डू उपत्यकामा पाइपलाइन जडान तथा सुन्दरीजलमा पानी प्रशोधनस्थलको काम पनि जारी नै छ।”हामी बोलपत्र र खरिद प्रक्रियाको अन्तिम अवस्थामा पुगेका छौँ। मूल्याङ्कन र अन्य प्रक्रियापश्चात् अब सम्झौता गर्न आऊ भन्ने भावमा पत्र पठाउँदैछौँ,” आयोजना सञ्चालन गर्दै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

कति समय लाग्ला?

नयाँ ठेक्काको लागि बनाइएका कागतपत्रमा सुरु भएको १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गरिनुपर्ने उल्लेख छ।

“तर निर्माण कम्पनीले दक्षतापूर्वक काम गरेको खण्डमा त्योभन्दा अगावै सकिने सम्भावना पनि रहेको छ,” पन्तले भने।हेडवर्क्सबाहेक सुरुङका बाँकी काम सिध्याउन पनि सिनोहाइड्रोलाई नै जिम्मा दिन लागिएको छ।

के हो सिनोहाइड्रो?

सिनोहाइड्रो चीनको एक विशाल एवम् प्रतिष्ठित जलविद्युत् इन्जिनियरिङ तथा निर्माण कम्पनी हो।

उसले चीनका अतिरिक्त दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र अझ खासगरी अफ्रिकामा दर्जनौँ ठूला आयोजना निर्माण गरेको छ।

More News last news
Loading...