काठमाडौं। प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्।
शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन्।
आज केन्द्र सरकारले बदाको घोषणा नगरेपनि प्रदेश २ सरकार र केही स्थानीय तहले भने सार्बजनिक बिदा दिएका छन्।
इस्लाम धर्मावलम्बीको महान् चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सत्रबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई (कुर्बानी) बलि दिने गर्दछन्।
बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । आज सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
