पाकिस्तानले भारतीय उच्चायुक्तलाई निकाला गर्ने, व्यापार स्थगन गर्ने

जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् गहिरिएको छ।

पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ।

Advertisement

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत प्रतिवाद गर्ने बताए।

आरोप
खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्।

भारतले विशेष हैसियत रद्द गरेसँगै उक्त क्षेत्र पूर्ण बन्दको अवस्थामा छ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी निकायले कश्मीरको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ।

भारत-प्रशासित कश्मीरमा लगाइएका प्रतिबन्धले त्यहाँको मानव अधिकारको अवस्था झन् बिग्रिने जनाएको छ।

हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन्।

भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ जसका कारण तीन दशकमा हजारौँले ज्यान गुमाइसकेका छन्।

भारतले त्यस्ता आन्दोलनकारीहरूलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ।

पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीहरूलाई नैतिक र कूटनीतिक सहयोग मात्रै दिएको बताएको छ।

भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि शुरू भएको बहस जारी छ।

भारतले जम्मू-कश्मीरलाई विशेष दर्जा दिनुको पछाडि ऐतिहासिक कारण छ जुन सन् १८४७ मा महाराजा गुलाब सिंहले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग जम्मू-कश्मीर किनेदेखि शुरू हुन्छ।बीबीसीको सहयोगमा

More News last news
Loading...