काठमाडौं । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खासगरी राजसंस्था र हिन्दूराष्ट्र पूनस्र्थापना गराउनको लागि विभिन्न खबरदारी सभाहरु गर्दै आएको पनि सुनाए । २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेकोमा उनले आपत्ति जनाए । उनले भने,‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो ।’
उनले आफूहरुले २०७५ जेठ २५ गते सभामुखलाई हिन्दूराष्ट्र र राजसंस्था पूनस्र्थापनाको लागि ज्ञापन पत्र बुझाएको सुनाउँदै आउने मंसिरसम्म पनि माग सम्बोधन नभए ७२ घण्टे लामो सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।
सभामुख कृष्णबहादुर महरालाई बुझाएको उक्त ज्ञापनपत्रमा ‘देशको पहिचान हिन्दु अधिराज्य, राष्ट्रिय अखण्डता, स्वाधीनता, देशको धर्म, सँस्कृति, भेगीय, क्षेत्रिय, आधुनिकता र परम्परागत संयोजनले मात्र नेपालको सार्वभौम सत्ता सुरक्षित गर्ने गराउने काम नेपालको शाह वंशीय राजसंस्थाले गरिआएको र एक्काइसौं शताब्दीमा लोकतन्त्र भनेपनि विश्वव्यापी मान्यता सबैले फुल्न र फल्न पाउने व्यवस्थालाई नै लोकतन्त्र भनी बुझिआयौं ।’ भन्ने कुरा उल्लेख रहेको छ।
जारी विज्ञप्तीमा भनिएको छ,‘हामीले ज्ञापनपत्र बुझाएको यत्तिका समय हुँदापनि सुनुवाई भएन र हामीले गर्दै आएको खबरदारी सभा त देशभरि जारी रहीरहने छ र अबको ५ महिना भित्र कुनै सुनुवाई नभएमा हामी मंसीर १ गते देखि ७२ घण्टे, लाखौं जनताको उपस्थितिमा संत्याग्रह गर्न हामी बाध्य हुनेछौं । सत्याग्रह गर्ने हाम्रो कुनै रहर होइन ।’
नेपाली जनताले २००७ सालमा आन्दोलन गरेको, ०३६ सालको जनमत संग्रहमा भाग लिएको, ०४६ सालको आन्दोलनमा सहभागी भएको, ०५२ सालको शसस्त्र द्वन्द्वमा पनि भाग लिएको र त्यसैगरी ६२÷६३ को आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएको भएपनि आखिरीमा जनताले के पाए त ? भनेर समाजले प्रश्नसमेत उठाएको छ । त्यस्तै, नेपालका राजनीतिक पार्टीहरु विदेशी प्रभावमा परेर आफ्नो मौलिक पहिचानपनि नामेट गर्ने कोसिस भैराखेको समाजको आरोप छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
