काठमाडौं । नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन्।
विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए । बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो। विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ । ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् ।
विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ। नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन्।
अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ। पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ। पूर्वमाओवादी पक्षले भने पोखरेलको नामलाई रुचाएको छैन । उसले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
