अमेरिकी विरोधका बीच टर्कीले रुसी हतियार भित्र्यायो

अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ। टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो।

टर्कीले रुसी एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अमेरिकी एफ-३५ लडाकु विमान सँगै राख्न नपाउने बताउँदै आएको अमेरिकालाई क्रुद्ध बनाउने छ। टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य हुन् तर टर्कीले रुससँग पनि नजिकको सम्बन्ध राख्न खोजिरहेको छ।

Advertisement

एक सय वटा अमेरिकी एफ-३५ लडाकु विमान किन्न हस्ताक्षर गरेको टर्कीले एफ-३५ कार्यक्रममा ठूलो लगानी गरेको छ। तर अमेरिकी रक्षा अधिकारीहरू भने रुसी प्राविधिकहरूले एफ-३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण सो विमानलाई एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिकै राख्न चाहँदैनन्।

एस-४०० ले कसरी काम गर्छ?

लामो दूरी रेखदेख गर्न सक्ने रेडारले कुनै पनि वस्तुको बारे नियन्त्रण गाडीमा सूचना दिन्छ। नियन्त्रण गाडीबाट सम्भावित लक्ष्यको निर्क्यौल गरिन्छ।

लक्ष्य निर्क्यौल भएपछि नियन्त्रण गाडीबाट क्षेप्यास्त्र प्रक्षेपणको आदेश दिइन्छ।

सो सूचना क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा राम्रो अवस्थामा रहेको क्षेप्यास्त्र प्रहार गाडीमा दिइन्छ जसले भूमिबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार गर्छ।

अर्को रेडारले क्षेप्यास्त्रलाई लक्ष्यसम्म पुग्न मद्दत पुर्‍याउँछ। बीबीसीको सहयोगमा

More News last news
Loading...