राष्ट्रपतिको विमान बेचेर अवैध आप्रवासन रोक्ने खर्च जुटाइने

काठमाडौँ । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले आफूले प्रयोग गर्दै आएको विमान बेचेर त्यसबाट आउने नाफा गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका छन्।

अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रवाह रोक्न सहमति गरेको छ। वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडोरले विमान बिक्रीबाट उठ्ने रकम गरिब जनतालाई सहयोग गर्न उपयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

उनी चढ्दै आएको बोइङ ड्रीमलाइनर ७८७ विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको बताइएको छ। सन् २०१८ मा राष्ट्रपतीय निर्वाचन अभियानमा ओब्राडोरले उक्त विमान बेच्ने प्रतिबद्धता जनाएका थिए।

झन्डै २२ करोड अमेरिकी डलर तिरेर मेक्सिकोले सन् २०१६ मा उक्त विमान किनेको थियो। ओब्राडोरले आफू सार्वजनिक विमान चढ्ने घोषणा राष्ट्रपतिको पदभार ग्रहण गर्दा गरेका थिए।

सात महिनादेखि बिक्रीमा राखिएको विमान हाल क्यालिफोर्नियामा छ। यस बाहेक मेक्सिकोले ६० वटा सरकारी विमान र ७० वटा हेलिक्पटर पनि बिक्री गर्न खोजिरहेको छ। मेक्सिकोका नागरिकहरूले भने सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध गरेका छन्।

केही प्रयोगकर्ताहरूले जनताको करबाट किनेको विमान बेचेर अन्य देशका आप्रवासीहरूमा खर्च गर्ने घोषणाको आलोचना गरेका छन्। अन्य केही प्रयोगकर्ताहरूले भने छ महिनामा खरिदकर्ता नभेटेको विमानले ४५ दिनमा भेट्ने सम्भावना न्यून रहेको प्रतिक्रिया व्यक्त गरेका छन्।

मेक्सिकोले ४५ दिनभित्र अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्ने सहमति अमेरिकासँग गरेको छ। यदि त्यसो गर्न असफल भए सहमतिअनुसार मेक्सिकोले आफ्नो भूमि हुँदै शरण खोज्न अमेरिका जान लागेका आप्रवासीबाट ुसुरक्षित तेस्रो मुलुकु बनेर शरणको आवेदन लिनुपर्नेछ।

आप्रवासीहरू मेक्सिको हुँदै अमेरिका छिर्ने गरेका छन्। यही विषयमा दुई देशबीच तनाव चर्किएको थियो।

More News last news
Loading...