काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका एक प्रमुख आर्थिक सल्लाहकारले चीनबाट आउने सामानमा अमेरिकाले लगाउने कर अमेरिकी व्यवसायी र उपभोक्ताले तिर्ने कुरामा आफू सहमत भएको बताएका छन्। तर राष्ट्रपति ट्रम्पले भने चिनियाँ सामानमा अमेरिकाले लगाउने कर अमेरिकी उपभोक्ताले नभई चीनले तिर्नुपर्नेमा पुन: जोड दिएका छन्।
ट्रम्पका आर्थिक सल्लाहकार ल्यारी कड्लो राष्ट्रिय आर्थिक परिषद्का प्रमुख पनि हुन्। उनले अमेरिकी व्यवसायीहरूले नै केही हदसम्म चिनियाँ सामानमा लगाइने करको भारत बेहोर्ने गरेकोप्रति आफ्नो सहमति जनाएका थिए।
फोक्स न्यूजसँगको कुराकानीको क्रममा उनले नयाँ करनीतिका कारण चीन र अमेरिका “दुवै पक्षले हानि बेहोर्नुपर्ने” बताए।फोक्स न्यूजको प्रश्न थियो, “राष्ट्रपति भन्छन् चीनले कर तिर्छ, तर त्यो अमेरिकी व्यापारी र उपभोक्ताले तिर्छन्। सही हो?”
उत्तर दिँदै ल्यारी कड्लोले भने, “हो, केही हदसम्म त्यही हो। म त्यसप्रति असहमत छैन। त्यसको मार दुवै पक्षलाई पर्नेछ।”गत शुक्रवार मात्रै ट्रम्पले ट्विटरमा अमेरिका आउने २५० अर्ब अमेरिकी डलरको चिनियाँ सामानको कर “चीनले तिर्ने” उल्लेख गरेका थिए।
अमेरिकी ढुकुटीमा चिनियाँ करबापत डलर आइरहेको भन्दै उनले अमेरिकाले हतारिएर चीनसँग व्यापार गरिहाल्नु नपर्ने तर्क गरेका थिए। गत वर्ष अमेरिकाले २०० अर्ब डलर बराबरका माछा, हाते झोला, कपडा र जुत्ता लगायतका चिनियाँ सामानमा १० प्रतिशत कर लगाइदिएको थियो। बीबीसीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
