काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने केही महिनादेखि नयाँ दिल्लीको दक्षिण पश्चिम किशनगढ भन्ने ठाउँको एक घरको २ वटा कोठामा बन्धक बनाएर राखिएका १० जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ।
वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई झुटो बोल्न लगाएर नेपालको सीमा पार गराउँदै फरक फरक एजेन्टमार्फत आसामको गुहावटीबाट बंगलादेशको सीमा हुँदै खाडी मुलुक पुर्याउने उदेश्यले लगेका थिए। तर आफू पक्राउ पर्ने डरले ती महिला तथा किशोरीलाई उक्त कोठामा बन्धक बनाई राखेका थिए।
दिल्ली महिला आयोग, दिल्ली प्रहरी, र आफन्त नेपालको संयुक्त टोलीले राती छापा मारेर उनीहरुको उद्धार गरेको हो। उद्धार गरिएका महिलाहरुले बताए अनुसार उनीहरुलाई आज भोली भन्दै उक्त कोठाबाट बाहिर जान नदिई बन्धक बनाएर राखिएको र हाल आफन्त नेपालको सहयोगमा उद्धार हुन पाउँदा खुशी लागेको बताएका छन्।
झापा, दाङ, धादिङ, सुनसरी र रुपन्देही घर भएका १० नेपाली महिलाहरुलाई खाडी मुलुक पुर्याउने योजना दलालको रहेको थियो। घरको आर्थिक अवस्था कमजोर भएको र छोराछोरीको उज्वल भविष्यको कल्पना गरेर घरबाट निस्किएका २२ देखि ३९ उमेरका उनीहरु भन्छन छिटो भन्दा छिटो हामी घर फर्किएर आफ्नो परिवार भेटी परिवारसंगै बस्न चाहन्छौ।
उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ। उनीहरुका तर्फबाट मुद्दा लगायतका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
