भारतमा माओवादीद्वारा निर्वाचन अधिकारीको हत्या

भारतको पूर्वी राज्य ओडिशामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेका हुन्।

Advertisement

संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदानकेन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ।

विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा बिहीवार दोस्रो चरणमा मतदान भैरहेको छ।

भारतमा कुल ९० करोड मतदाता रहेका छन्। निर्वाचनका लागि देशभरि ५० लाख कर्मचारी खटीएका छन्।यो निर्वाचनले भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ। लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।

यो चरणको मतदानमा शक्तिशाली क्षेत्रीय दलहरू संसद्को ९७ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्।निर्वाचनका लागि मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ। सबैतिर मतदान सकिएपछि मतगणना मे २३ तारिखमा सुरु हुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।

यद्यपि रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ।

विभिन्न राज्यमा प्रभावशाली रहेका क्षेत्रीय दलहरूले लोकसभाको परिणाममा प्रभाव पार्ने देखिएको बताइन्छ।

दक्षिणमा तमिलनाडु र पूर्वमा पश्चिम बङ्गालमा क्षेत्रीय दलहरू शक्तिशाली देखिएका छन्।

More News last news
Loading...