बीबीसी । ब्रुनाई समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मार्ने कानुन लागु गरेर समलैङ्गिकतामा मृत्युदण्ड सजाय दिने आठौँ देश भएको छ।
त्यस्तो कानुन भएको अन्य देश इरान, साउदी अरब, यमन, सुडान, मौरिटानिया, नाइजेरिया र सोमालिया हुन्। नाइजेरिया र सोमालियाका केही प्रान्तमा समलिङ्गीलाई मृत्युदण्डको सजाय भएको अन्तर्राष्ट्रिय लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स र इन्टर्सेक्स सङ्घ आईएलजीएले जनाएको छ।
कुनकुन देशले समलिङ्गीलाई मृत्युदण्ड दियो भन्ने पत्ता लगाउन भने सहज छैन। एमनेस्टी इन्टर्न्याश्नलले विगत केही वर्षमा समलिङ्गीलाई मृत्युदण्ड नदिइएको बताएको छ। तर इरान र साउदी अरबमा समलिङ्गीलाई मृत्युदण्ड दिइएको इतिहास छ।
नाइजेरियाको मुस्लिमबाहुल्य उत्तरी प्रान्तहरूमा त्यस्तो व्यवस्था भएपनि त्यो कहिल्यै लागु गरिएको छैन। ब्रुनाईमा पहिले पनि समलैङ्गिकता गैरकानुनी थियो र यसको सजाय १० वर्ष कैद थियो। नयाँ कानुनले महिलाबीचको समलिङ्गी सम्बन्धलाई पनि गैरकानुनी मानेको छ। यसको सजाय ४० कोर्रा वा १० वर्ष जेल वा दुवै रहेको छ।
आईएलजीएको अनुसार संसारका ७० देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी रहेको छ। रुससहित अन्य देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी नभएपनि केही कानुनी बन्देज लगाइएका छन्। सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाउने कानुनी प्रावधानहरू खारेज गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
