काठमाडौँ । नेपालमै पहिलो पटक पश्चिम नेपालको एउटा बहुउद्देश्यीय आयोजनामा मेसिन प्रयोग गरेर पूर्ण सुरुङ खन्ने काम लगभग सम्पन्न भएको सरकारी अधिकारीहरूले बताएका छन्।
नेपालमै पहिलो पटक प्रयोग गरिएको सुरुङ खन्ने विशाल उपकरण, टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण गरिएको हो। उक्त सुरूङ खन्ने काम लगभग सकिएको अधिकारीहरुले बताएका छन्। उनीहरूका अनुसार सुरुङ निर्माण सम्पन्न भएको घोषणा गर्न भने बाँकी छ।
त्यसका लागि २ मिटर खन्ने काम बाँकी राखिएको र आगामी वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गर्ने कार्यक्रम रहेको अधिकारीहरूले बताएका छन्।उक्त सुरुङमार्गबाट भेरी नदीको पानी बबई नदीमा झारेर वर्षैभरि करिब ४७ मेगावाट विद्युत निकाल्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ।
विभिन्न आशंकाहरूबीच भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलो पटक सुरुङ खन्नका लागि टीबीएम प्रयोग गर्ने निर्णय भएको थियो। १२ किलोमिटर लामो उक्त सुरुङमार्ग खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीले गत वर्षको कार्तिक २० गते देखि उक्त मेसिन प्रयोगमा ल्याएको थियो।
अर्को वर्षको चैतमा सकिने अनुमान गरिएको भएपनि सुरुङ खन्ने काम एक वर्ष अगाडि नै सकिएको अधिकारीहरूले बताए। वैशाख ३ गते निर्माण सम्पन्न भएको घोषणा गर्नका लागी हाललाई २ मिटर सुरुङ खन्न बाँकी राखिएको र अन्य सबै काम सकिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए।
उनले भने, हामीले २०७४ कार्तिक २० गतेबाट सुरुङ निर्माण गर्नका लागि टीबीएम मेसिन प्रयोग गरेका हौँ। सम्झौता अनुसार २०७६ चैत १५ गतेसम्म समय थियो। तर अहिले नै २ मिटर मात्र बाँकी राखेर अरु खन्ने काम सम्पन्न भएको छ।
आगामी वैशाख ३ गते भने विकास आयोजनाका लागि प्रविधि प्रयोग गरेर काम सम्पन्न भएको ऐतिहासिक दिन हुने भएकाले घोषणसभामा प्रधानमन्त्री सरिक हुने कार्यक्रम तय भएको अधिकारीहरू बताउँछन्। उक्त सुरुङ मार्गबाट प्रति सेकेन्ड ४० क्यूबिक मिटर (क्यूमेक) पानी बबई नदीमा झर्ने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
