हावाहुरीपछि फेरि अर्को महाविपत्ति, चट्याङ लागेर १५ जना घाइते, ७ जना बेहोस

काठमाडौं । केही दिन देखि नेपालमा पश्चिमा वायुको प्रभावले मौसममा अचानक परिवर्तन आएको छ । यो बिचमा बारा र पर्सामा आएको शक्तिशाली आँधीले २९ जनाको ज्यान गएको छ भने चार सय भन्दा धेरै घाइते भएका छन् । यस्तै चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन्।

घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोट र ४ जना रामारोशन गाउँपालिका ५ सल्लीसैनका रहेका छन् । उनीहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा मंगलवार राति परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन्।

बेहोस अवस्थामा रहेकाहरु १४ वर्षका जगत बोहरा, १९ वर्षका भीमपुरा दास, ५२ वर्षका बलिराम दास, ४५ वर्षकी लडु बिक, ५७ वर्षका दुर्गे बिक, १५ वर्षकी कल्पना बोहरा र ४० वर्षकी राधिका शाही हुन् । उनीहरु सबै तामकोट गाउँकै हुन्।

गम्भीर घाइतेहरुलाई इलाका प्रहरी चौकि कालेकाँडाबाट गएको प्रहरी टोलीले उपचारका लागि चिलतडा स्वास्थ्य चौकिमा ल्याउदैछ।

घटनास्थल चिलतडाबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । चट्याङ लागेर घाइते भएका सोही गाउँका ४० वर्षका उज्वल सार्की, १९ वर्षका उपेन्द्र बोहरा, २५ वर्षकी निता दास र ६० वर्षकी जौकला दासको अवस्था भने सामान्य रहेको छ।

रामारोशन गाउँपालिका ५ नेटाकोटको सल्लीसैनमा चट्याङ लागेर घाइते भएका चार जनाको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ।

सल्लीसैनमा घाइते भएका १६ वर्षकी खन्टी कुमारी दमाई, १३ वर्षका दिनेश दमाई, १२ वर्षकी रुपा दमाई र ७ वर्षकी गीता दमाइलाई सामान्य उपचारपछि घर फर्काइएको छ। उनीहरु एकै घरका दाजुबहिनी हुन्। चट्याङले लागेर उनीहरुकै घरको एक भैँसी मरेको छ।

More News last news
Loading...