सुर्खेत । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलाका मृत भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको हत्या भएको खुलेको छ । नेपाली सेनाको वीरदल गण, पाँचथरमा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको हत्या गरेका प्रहरीले जनाएको छ।
प्रेमाको मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि उनको हत्या गरेको खुलेको पनि प्रहरीले बताएको छ। शनिबार दर्शनले प्रेमालाई छिन्चुमा बोलाएका थिए। उनले साथी मार्फत सामान पठाइदिएको र आफू गएर लिन भनेका थिए।
प्रेमा गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ५ वर्षीया छोरीसहित बस्थिन्। उनको माइती घर पनि सोही वडाको तोरीबारी हो। सात वर्ष पहिले उनीहरूको प्रेम विवाह भएको थियो। पछिल्लो समय भने उनीहरूबीच राम्रो सम्बन्ध नभएको र झैझगडा परिरहने खुलेको छ। एकअर्कामाथि शंका गर्ने उनीहरूबीच सम्बन्ध बिच्छेद गर्नेसम्मको कुरा चलेको थियो।
प्रहरीका अनुसार, उनीहरूको भेट साँझ करिब साढे ६ बजेतिर भएको हुन्छ। भेटपछि उनीहरू केही बेर गफिँदै हिँड्छन्। केही बेरमै विवाद सुरू हुन्छ। प्रेमा वीरेन्द्रनगरतर्फ हिँड्न थाल्छिन्। भनाभन गर्दै दुवै झिगेनारा खोलाको पुल तरेर उत्तर–पूर्वको रामजानकी सामुदायिक वनतर्फ लाग्छन्।
सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काका अनुसार आधा घन्टा जति पैदल हिँडेपछि उनीहरू बाटोमा बसेर विवाद गर्न थाल्छन्। त्यहीबीच दर्शनले प्रेमाको मोबाइल खोस्छन्। मोबाइलमा अर्कै पुरूषको तस्बिर देखेपछि यो को हो भन्दै सोधखोज गर्छन्। प्रेमाले पनि दर्शनलाई विभिन्न महिलासँगको सम्बन्धबारे कुरा झिक्छिन्।
आवेगमा आएर दर्शनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गर्छन्। प्रेमा भुइँमा ढल्छिन्। दर्शन पाँच मिनेटसम्म पर्खिन्छन्। प्रेमा हलचल नगरेपछि मरेको सुनिश्चित गर्छन्। अनि उनकै सलले घाँटीमा कसेर घिसार्दै केही पर पुर्याउँछन् र घुँडासम्म पानी भएको खाडलमा फालिदिन्छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
