काठमाडौँमा पनि आएको थियो हावाहुरी

काठमाडौँ । काठमाडौँ उपत्यका र मध्य नेपालका विभिन्न स्थानमा आइतवार साँझ तीव्र गतिको हावा चल्यो।

हावाका कारण साँझ ‍६ः०४ मिनेटदेखि ६ः४१ मिनेटसम्म विमानस्थल बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले जानकारी दिए। त्यसबाट दुई दर्जनभन्दा बढी उडान प्रभावित भएका थिए।

Advertisement

मौसममा भएको बदलीका कारण उत्पन्न हावाहुरीले २२ वटा आन्तरिक र चारवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको पौडेलले बताए। काठमाडौँमा उत्पन्न हावाहुरी र बारा तथा पर्सा जिल्लालाई साढे सात बजेपछि प्रभावित पार्ने हावाहुरीबीच सम्बन्ध भएको हुन सक्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्य बताउँछन्।

चितवनमा उत्पन्न भएर बारा र पर्सातिर सरेको हावाहुरीले ती दुई जिल्लामा धनजनको ठूलो क्षति पुर्‍याएको छ। विमानस्थलका अधिकारीहरूका अनुसार दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एअरवेजको विमान भारतको कोलकातातिर मोडिएको थियो।

त्यस्तै चीनबाट उडेको चाइना सदर्न र दुबईबाट उडेको फ्लाई दुबईको विमानले भारतकै अर्को सहर लखनऊमा अवतरण गरेका थिए। काठमाडौँ विमानस्थलबाट उड्न तयार अवस्थामा रहेको इतिहाद एअरको विमानलाई पार्किङ स्थलतर्फ फर्काइएको थियो। पछि विमानस्थल सञ्चालनमा आएपछि उक्त विमान उडेको थियो।

More News last news
Loading...