चौतारा । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ।
जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो। थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए।
उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो।
विभिन्न जिल्लाका चार महिलासहित १७ जनालाई राज्यविरुद्धको अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेटलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
