काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरमले वर्तमान सरकारलाई सहयोग गरिरहनु दुर्भाग्यपूर्ण बताएको छ।
राजपाले फोरम नेपाललाई वार्ताका लागि आग्रह गर्दै फागुन ३० गते पठाएको पत्रमा भनिएको छ, ‘फोरम नेपालको बुझाई अत्यन्तै यथार्थ र वस्तुपरक छन्।
व्यवहार र हातोमालो मात्र होइन, त्यो पार्टीले त्यसै यथास्थितिवादीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्काउने दुस्साहस गर्नलाई सहयोग पुग्ने गरि दूई तिहाइ संसदीय गणितलाई ग्यारेन्टी गर्दै मजबुती प्रदान गर्ने काम गरिरहेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ।’
यसअघि फोरम नेपालले पुस १९ गते पठाएको पत्र राजपा नेपालले फागुन १० गते प्राप्त गरेको थियो। फोरम नेपालको पत्रमा देशमा यथास्थितिवादी राजनीतिक शक्तिलाई पहिलो र दोस्रो राजनीतिक शक्तिको रुपमा स्थापित गरेको उल्लेख गर्दै देशले आज श्रमजिवी वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको उल्लेख गरेको थियो। वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई धु्रवमा रहेका दलबीच उचित वातावरण तयार गरी वार्तालाई अगाडी बढाउन राजपा नेपालले फोरमलाई आग्रह समेत गरेको छ।
६ वटा दल एकीकरण हुँदा पनि फोरमलाई त्यसमा सहभागी भई वैकल्पिक शक्ति निर्माण गर्न राजपा नेपालले आग्रह गरेको थियो। तर त्यो बेला फोरम सहभागी नहुँदा वैकल्पिक शक्ति निर्माण गर्ने अभियान अपूर्ण रहेको राजपा नेपालले फोरम नेपाललाई पठाएको पत्रमा उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
