काठमाडौँ । इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ।
एयरलाइन्समा ज्यान गुमाउने नेपाली नागरिक एकता अधिकारी रहेको पुष्टि भएको हो। अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन्। नेपालको गोर्खा मूल घर भएकी अधिकारी आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन्।
एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन्। डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् ।पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन्।
गोरखाकी उनले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन्। आइतबार भएको उक्त दुर्घटनामा नेपालकी अधिकारी सहित ३६ देशका १५७ जनाले ज्यान गुमाएका छन्।
इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
