उडेको ६ मिनेटमै १५७ यात्रु बोकेको विमान दुर्घटना, सबैको मृत्यु

बीबीसी । इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको ज्यान गएको सो एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य थिए। उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा विमान दुर्घटना भएको एयरलाइन्सका एकजना प्रवक्ताले बताएका छन्। दुर्घटनाको कारण थाहा हुन सकेको छैन। एयरलाइन्सका अनुसार विमानमा विभिन्न ३३ मुलुकका यात्री थिए।

Advertisement

हताहती
एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार विमान खस्दा त्यसमा आगो लागिरहेको थियो। उनले भने, विस्फोटको आवाज र आगो यति कडा थियो कि म नजिक जाने आँट गर्न सकिनँ।

यसअघि एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।

दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना भन्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।

सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ। यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो। उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।

More News last news
Loading...