बीबीसी । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आइएस) समूहका लडाकुसँग बिहे गर्न लण्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिस नागरिकता रद्द गरिएको छ।
उनको आमाबुवा बांग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको ब्रिटिस अधिकारीहरूले बताएका छन्। शमिमा बेगमलाई गत साता एक सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो।
आइएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी थिइन् र सप्ताहान्तमा उनले त्यहाँ छोरालाई जन्म दिइन्।
सोमवार बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आइएसका लागि एउटा प्रतीक बन्न आफूले कहिले नखोजेको र अब चुपचाप ब्रिटेनमा फर्किएर बच्चा हुर्काउन चाहेको बताएकी थिइन्।
के भन्छ ब्रिटिस कानुन ?
सन् १९८१ को ब्रिटिस राष्ट्रियता सम्बन्धी ऐन बमोजिम गृहमन्त्रीले दुईवटा सर्त पूरा भए कसैको नागरिकता रद्द गरिदिन सक्छन्।
देश छाडेर गएपछि कदिजा सुल्ताना, अमिरा अबास र शमिमा बेगम (देब्रेबाट दाहिने तर्फ) तीन किशोरीको फोटो प्रहरीले सार्वजनिक गरेको थियो। पहिलो, यदि त्यसो गरिनु आम जनताको भलाइमा छ र दोस्रो, यदि ती व्यक्ति राज्यविहीन बन्दैनन् भने।
शमिमाको हकमा उनको आमाबुवा बांग्लादेशी भएकाले उनी राज्यविहीन नहुने तर्क गरिएको छ। तर उनको परिवारले सरकारी निर्णयलाई कानुनी चुनौती दिने ठानिएको छ। बांग्लादेशले चाहिँ शमिमालाई स्वीकार्छ या स्वीकार्दैन भन्ने प्रस्ट छैन।
अन्तर्राष्ट्रिय कानुन अनुसार सरकारहरूले नागरिकलाई राज्य विहीन बनाउन सक्दैनन्।
बीबीसीका सम्वाददाता बेन एन्डो भन्छन्, गृहमन्त्री तथा अधिकारीहरूको विश्वास के छ भने शमिमाका आमाबुवा बांग्लादेशका भएकाले उनी त्यहीँको नागरिक हुन योग्य छिन्। तर बांग्लादेश उनलाई लिन तयार छ भन्ने बारे भने त्यत्तिकै आशा गरिएको देखिन्छ।
अब शमिमाले के गर्लिन् ?
शमिमा बेगमले गत सप्ताहान्तमा एक छोरालाई जन्म दिइन्। यसअघि उनले दुई बच्चा गुमाइसकेकी छन्।
उनको श्रीमान इस्लाम अपनाएका एक डच नागरिक हुन्। तिनले दुई साता अगाडि सिरियाली लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको ठानिएको छ।
बेगमले गृहमन्त्रीको निर्णय विरुद्ध पुनरावेदन गर्न सक्छिन्।
उनको बांग्लादेशी मूलकी भएको भनिए पनि बीबीसीसँगको अन्तर्वार्तामा उनले आफूसँग बांग्लादेशी राहदानी नभएको र कहिल्यै बांग्लादेश नगएको बताइन्।
बेगमको नवजात शिशुको हकमा कानुन अनुसार नागरिकताबाट वञ्चित गरिनु अघि ब्रिटिस अभिभावकको कोखबाट जन्मिएकाहरूलाई ब्रिटिस नै मानिने उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
