भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट मुख्यमन्त्रीको सपथ लिएका येदियुरप्पाले राजिनामा दिएका छन् ।
संसदमा बहुमत पुर्याउन नसकेपछि भाजपाको सरकार ढलेको हो । कर्नाटकका २ सय २२ सिटमध्ये बहुमतको लागि १ सय १२ सिट आवश्यकपर्नेमा भाजपाको १ सय ४ सिट मात्र थियो । तर पनि ठूलो दलका हिसाबमा भाजपाका येदियुरप्पाले मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए ।
उनले सरकारको दाबी गर्दै राज्यपालसमक्ष सपथ लिए पनि बहुमतका लागि दिइएको शनिबार ४ बजेसम्मको समयमा थप ८ जना सांसदको समर्थन नपाउँदा राजिनामा दिनुपरेको हो । राजिनामा दिँदै येदियुरप्पाले अब छिटै चुनाव हुने र चुनावमा बहुमतभन्दा धेरै सिट जितेर देखाउने दाबी गरेका छन् ।
राज्यपाल वजूभाई वालाले सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउने निम्ता दिएपछि विवाद चर्किएको थियो । कांग्रेस र जनता दल सेक्यूलर (जेडीएस)आफूहरुसँग सरकार बनाउन बहुमत सदस्य भएको भन्दै सर्वोच्चमा पुगेका थिए ।
भाजपाले कांग्रेस र जेडीएसका सांसदलाई आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरेपनि नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, बहुमत नपुगेको दलका नेतालाई मुख्यमन्त्रीको सपथ गराएकोमा कांग्रेसले कर्नाटकका राज्यपालको राजीनामा मागेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
