काठमाडौँ । नौ महिनाअघि भोजपुरको पूर्वी अरुण गाउँपालिका ३ मा भएको तीन अबोध बालबालिकाको ‘शंकास्पद’ मृत्यु अनुसन्धानमा प्रहरी नै उदासीन देखिएको छ।
हत्या आशंकामा जिल्ला, क्षेत्र र केन्द्र गरी तीन तहमा प्रहरी अनुसन्धान गरिए पनि कतैबाट निष्कर्ष आउन नसक्दा स्थानीयमा आशंकासँगै त्रास बढेको छ। अनुसन्धान कहाँ पुग्यो ? किन अडकियो भनी सोध्दा अनुसन्धानमा संलग्न प्रहरी निकाय एकले अर्कालाई औंल्याएर पन्छन थालेका छन्।
अरुण गाउँपालिका ३ का १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीय सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको स्थानीय निर्वाचनताका गाउँमै ‘शंकास्पद’ मृत्यु भएको थियो । असार १० गते साँझ अचानक हराएका तीनै बालबालिकाको शव १२ गते मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछापोखरीमा फेला परेको थियो। अनुसन्धानमा संलग्न निकाय र जिल्लाको राजनीतिक नेतृत्व ‘चुपचाप’ देखिनुले तथ्य सार्वजनिक नहुने र सम्भावित दोषी उम्कने सम्भावना बढेको छ।
उक्त घटनाबारे सुरुमा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान ब्युरो, विराटनगरले एकसाथ एक महिना लामो अनुसन्धान गरेका थिए। उनीहरूको अनुसन्धान ढिलो र शंकास्पद बन्दै गएको स्थानीयको गुनासोपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली नै साउन १३ गते घटनास्थल पुगी एक साता अनुसन्धान गरेर फर्केको थियो। अनुसन्धान अधिकृत दधिराम न्यौपानेको नेतृत्वमा खटिएको सीआईबी टोलीले घटनाबारे सत्यतथ्य ल्याउने अपेक्षा पीडित परिवारले गरेका थिए। तर यतिन्जेलसम्म यथार्थ पत्ता लाग्नुको साटो अनुसन्धान नै सुस्ताएपछि पीडित परिवार निराश छन्।
‘चाँडै पत्ता लाग्ला कि भन्ने आस थियो, अचेल त कसैलाई वास्तै छैन, घटना त सामान्य पो बनिदियो,’ रञ्जीवका बुबा रवीन्द्र सापकोटा भन्छन्। उनीहरूमा आशाको त्यान्द्रो भने अझै बाँकी छ। ‘ढिलोचाँडो त पत्ता लाग्ला नि !’ मृतक सुष्मा र प्रदीपका बुबा चेतनाथ फुयालले भने। ‘अनुसन्धान’ भन्दै गुपचुप बनाइदिने हुन् कि भन्ने शंका पनि लागेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियार थारू सम्पूर्ण अनुसन्धान सीआईबीले हेरेकाले आफूलाई जानकारी नभएको भन्दै पन्छिए। ‘सीआईबीले हेरेको घटनाबारे हामीले बोल्न मिल्दैन, उतै बुझ्नुस्,’ उनले चासो राख्नेलाई यही जवाफ फर्काउने गरेका छन्।
सीआईबीका डीआईजी पुष्कर कार्की भने अहिलेसम्मको अनुसन्धानका डकुमेन्ट, पोस्टमार्टम रिपोर्ट, भिसेरा, डायटम परीक्षण प्रतिवेदन, स्थानीयको बयान र प्राविधिक विश्लेषण हेर्दा कसैले कर्तव्य गरी मारेको नदेखिएको बताउँछन्। ‘एक लेभलको अनुसन्धान केन्द्र र प्रदेशको चुनावअघि नै जिल्ला प्रहरी कार्यालयमा पठाइसकिएको छ। अनुसन्धान बन्द भएको छैन। जिल्ला प्रहरी कार्यालयले क्लु भेटेको खण्डमा अनुसन्धान अघि बढ्छ,’ उनले भने। ‘हामीले अनुसन्धानमा सहयोग गरेको हो, विस्तृत बुझ्न जिल्लाकै डीएसपीसँग बुझ्नुस्,’ उनले थपे।
घटना सामान्यीकरण हुँदै जाँदा रिपोर्टहरूमा कर्तव्य नगरिएको देखिनुलाई पीडित पक्ष ‘शंकास्पद’ ठान्छ। पोस्टमार्टम रिपोर्ट पीडित पक्षलाई नदेखाइनु र भोजपुर सदरमुकाममा नगरी शव धरान लैजानुले सत्यतथ्य लुकाउन खोजिएको आशंका पीडितको छ। डीआईजी कार्की भने यो आरोप स्वीकार गर्दैनन्। ‘भोजपुरमा पोस्टमार्टम नगर्दैमा रिपोर्ट लुक्ने होइन, पोस्टमार्टम रिपोर्टका विषयमा सरोकारवालाले छलफल गर्न पाउँछन् तर रिपोर्ट दिनुपर्छ भन्ने हुँदैन,’ उनले भने । कार्कीले बिनाआधार हत्या भनेर नलेख्न पत्रकारहरूलाई पनि आग्रह गरे। ‘हामीले हदैसम्मको अनुसन्धान गरेका छौं, अनुसन्धान त विशेषज्ञले गर्ने हो, पत्रकारले हत्या गरेको भनेर लेखिदिने कुरा मिलिरहेको छैन,’ उनले भने। केस अदालत नपुगी, अदालतबाट नटुंगी अनुसन्धान टुंगिएको वा सुस्त भएको भन्न नमिल्ने उनको भनाइ छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
