काठमाडौँ । कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन्।
लोकल बस चढेर बल्खु उत्रिइन्। कहाँ जाने ठेगान थिएन। उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन्। बस खचाखच थियो। पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन्। बस स्वयम्भूतर्फ अघि बढ्यो। तर, उनी बसबाट ओर्लिन नै भुलिन्। बसको रुटमा उनी घुमिरहिन्।
रात पर्यो। बस ग्यारेजमा थन्क्याउने वेला भयो। चालक सन्तोष घिमिरेले बस बसुन्धरास्थित ग्यारेजमा लगे। सहचालक दिवस गड्तौला ढोका बन्द गर्न बसभित्र चढे। पछाडिको सिटमा कोही रहेजस्तो देखियो। चनाखो हुँदै उनी त्यसतर्फ बढे। सिटमा बालिका थिइन्।
यसरी भयो बलात्कार
बालिका रहेको सूचना तत्काल चालक सन्तोषलाई सुनाए। सन्तोष पनि बसभित्र चढे। बालिका सिटमै थिइन्। वातावरण सुनसान थियो। उनीहरूले बालिकालाई समाते। किन समातेको बालिकालाई पत्तै भएन। त्यसैले उनी चुपचाप बसिन्। यसले बसका चालक र सहचालकलाई हौस्यायो। उनीले बालिकाको कपडा खोले। अनि दुवैले पालैपालो बलात्कार गरे।
मानसिक अपांगता भएकाले बालिका चिच्याइनन्। न अवरोधमा नै उत्रिइन्। यसले बसका चालक र सहचालकलाई थप बल पुर्यायो। उनीहरूले बालिकालाई बसबाट ओराले। अनि सँगै लिएर हिँडे, ललितपुरको हरिसिद्धिस्थित कोठातर्फ। कोठामा सन्तोष बस्थे। बालिकालाई सन्तोषले नै राख्ने निर्णय गरे। उनले बालिकालाई कोठामा लगे। अनि बन्धक बनाए।
प्रहरीका अनुसार उनले बालिकालाई खानाको प्रबन्ध कोठामै गरिदिए। सुत्न आफ्नै खाट दिए। छिमेकीले थाहा पाउलान् कि भन्ने डर थियो उनलाई। बालिकालाई बाहिर निस्कनै दिएनन्। दिसा–पिसाब गर्ने व्यवस्था पनि कोठाभित्रै मिलाए। ६ दिनसम्म बन्धक बनाएर दैनिक बलात्कार गरे।
६ दिनसम्म बालिका बन्धक नै भइन् । २४ फागुनमा कसोकसो उनी त्यहाँबाट उम्किन सफल भइन्। उनी भाग्दै थिइन्। त्यही वेला बसका अर्का सहचालक सुदीप बजगाईंले बाटोमै भेटे। उनले बालिकालाई समातेर कोठामा लगे। रातभर बलात्कार गरे। बिहान भयो। उनी कोठाबाट निस्के। उनले बसका अर्का सहचालक दिवस गौड्तौलालाई बाटोमै भेटे।
कुराकानीका क्रममा बालिकाको प्रसंग निस्कियो। दिवसले बालिका बेपत्ता भएको बताए। सुदीपले बालिका आफूसँग रहेको जानकारी दिए। दिवसले बालिका आफूलाई जिम्मा दिन भने। सुदीपले बालिका दिवसलाई जिम्मा लगाए।
दिवस बालिका लिएर बसका चालक सन्तोषकहाँ पुगे। सन्तोषले बालिकालाई फेरि हरिसिद्धिस्थित कोठामा लगे। बन्धक बनाए। अनि तीन दिनसम्म पटक–पटक बलात्कार गरे। लगातारको बलात्कारपछि बालिकाको स्वास्थ अवस्था बिग्रँदै गयो। सन्तोष डराए। उनले सोचे बालिकालाई अब छाड्नै उचित हुन्छ। कोठाबाट आफूसँगै लिएर हिँडे। चक्रपथ रुटमा चल्ने बस स्टेसन पुगे। बा२ ख ४१९५ नम्बरको बस रोके। बालिकालाई सोही बसमा चढाए। अनी आफू काममा लागे।
बसचालक भोला र सहचालक चन्द्र सापकोटा बसभित्रै चढे। अनि पालैपालो बलात्कार गरे। लगातारको बलात्कारपछि बालिकाको स्वास्थ्य अवस्था झन् बिग्रँदै गयो। बसका चालक भोला र सहचालक चन्द्रले बालिकालाई गर्भनिरोधक चक्की खुवाए। अनि २८ फागुनको बिहान स्वयम्भूमा ल्याए। बालिकाको हातमा दुई सय ५० रुपैयाँ थमाए। बालिकालाई त्यहीँ छाडे। दुवै आफ्नो बाटो लागे।
गर्भनिरोधक चक्की खुवाएर बलात्कार
बालिकालाई चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरका चालक सन्तोष घिमिरेले कोठामा बन्धक बनाएर पटक–पटक बलात्कार गरे। यसका लागि उनले बालिकालाई खुवाउन औषधि पसलबाट गर्भनिरोधक चक्की किने। बालिकालाई जबरजस्ती खुवाए। आफूले भने कन्डम लगाए। अनि निरन्तर बलात्कार गरे। यस क्रममा उनले बालिकालाई दिसा र पिसाब गर्नसमेत बाहिर निस्कन नदिएको परिसरका डिएसपी मोहन थापाले बताए।
१७ फागुनमै हराएको सूचना
हराएकै दिन बालिकाकी आमा महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। छोरी बेपत्ता भएको जाहेरी दिइन्। प्रहरीले खोजी कार्य सुरु गर्यो। तर, भेट्टाउन सकेनन्। आहत बालिकाकी आमा छोरीको फोटो लिएर टेलिभिजन पुगिन् । छोरी बेपत्ता भएको सूचना प्रसारण गर्न लगाइन्।
यता मुख्य समाचारको बीचमा बालिका बेपत्ता भएको सूचना प्रसारण भयो। उता बालिका सन्तोषको हिरिसिद्धिस्थित कोठामा बन्धक थिइन्। टेलिभिजनमा बालिका बेपत्ता भएको सूचना प्रसारण भइरह्यो। बालिका बलात्कार भइरहिन्।
घटनामा संलग्न पाँच पक्राउ
छोरी बेपत्ता भएको पीडाले बालिकाकी आमा पीडामा थिइन्। उनलाई कसैेले छोरी स्वयम्भूमा भेटिएको खबर गरे। उनी हतार–हतार स्वयम्भू पुगिन्। छोरी त भेटिन्। तर, उनको अवस्था नाजुक थियो। मानसिक अपांगता भएकी उनी लगातार बलात्कारको पीडाले बर्बराउन थालेकी थिइन्।
छोरी टिपेर उनी घर पुगिन्। छोरीको शरीर हेरिन्। निकै टीठलाग्दो थियो। सोधपुछ गरिन्। अनि खुल्यो बलात्कारको रहस्य। रन्थनिएकी उनी महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। छोरी बलात्कार भएको भन्दै जाहेरी दिइन् । प्रहरीले घटना अनुसन्धान गर्यो। उजुरी परेको केही दिनमै घटनामा संलग्न पाँच अभियुक्त पक्राउ परे। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
.
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
