देउवा शक्तिशाली बन्दा कांग्रेस किन खुम्चिन्छ ?

काठमाडौँ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा जन्मिएका शेरबहादुर देउवा ७० काटेपछि मात्रै नेपाली कांग्रेसको सभापति भए। तर उनै देउवालाई नेपालको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्रीमा पुग्न भने भने ५० वर्ष पनि कुर्नुपरेन।

बहुदल आगमनपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो शक्तिशाली पद पाएपछि देउवाको सत्ता यात्रा त्यहीँबाट सुरु भयो।

Advertisement

बिहे गरेपछि शक्तितिर
गृहमन्त्री हुँदा देउवाले विवाह समेत गरेका थिएनन्। उनले ४५ वर्षको उमेरमा राणा खानदानकी आरजु राणासँग विवाह गरे । त्यसपछि उनको निकटता दरबारसँग समेत भयो। गृहमन्त्रीको शक्तिले उनलाई दरबारसँग निकट हुन झनै सहयोग गर्‍यो।

देउवानिकट पुराना एक नेता भन्छन्,‘बिहे गरेपछि देउवा व्यक्तिवादी र स्वार्थी भए। उनले आफूलाई डा हरुले मलाई बिगारेको बताउँथे।’ डा प्रकाशशरण महत, डा मिनेन्द्र रिजाल, डा नारायण खड्का र डा आरजु देउवाप्रति संकेत गर्दै देउवाले गुनासो गर्ने गरेको ती नेता बताउँछन्।

डा रिजाल बाहेक अहिले पनि सबै डाक्टर देउवासँगै छन्। कांग्रेसनिकट वरिष्ठ पत्रकार वेदप्रकाश त्रिपाठीले एउटा आलेखमा पत्नीका कारण देउवा बदनाम भएको टिप्पणी गरेका छन्।

उनले लेखका छन्, ‘चुनाव हारेपछि दर्जनौँ राम्रा निर्णय गरेर पनि लोकप्रिय बन्नुको साटो आलोचनाको केन्द्र बन्ने नेताका रूपमा देउवालाई बिर्सन सकिँदैन। नेपालको इतिहासमा पत्नीलाई अघि लगाएर राज्यको साधन र स्रोतमा सर्वाधिक लामो हात गर्ने व्यक्ति शेरबहादुर देउवा भएका छन्। राजा वीरेन्द्रको शासनकाल (पञ्चायत) मा उनकी पत्नी ऐश्वर्य, बाबुरामको कार्यकालमा हिसिला र गिरिजाप्रसाद कोइरालाको समयमा सुपुत्री सुजाता आफ्नो क्रियाकलापका कारण जनस्तरमा बद्नाम थिए, त्यसभन्दा धेरै बद्नामी देउवा पत्नीले गरेकी छिन। राज्यका स्रोत साधनहरूको उच्चतम् दोहोन गर्न पत्नीलाई छोड्ने व्यक्तिका रूपमा पनि देउवालाई भविष्यसम्म स्मरण गरिरहनुपर्ने स्थिति छ।’

कोइराला ढलेपछि देउवाको उदय
वि.सं २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि कोइराला नेतृत्वको सरकार ढल्यो। कोइरालाले त्यसपछि मध्यावधि निर्वाचन घोषणा गरे। देउवासमेत गृहमन्त्री रहेका बेला भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो।

२०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो। ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो। त्यहीबेला कांग्रेसले पहिलो झट् बेर्होनु पर्‍यो, त्यो पनि देउवा गृहमन्त्री भएका बेला। त्यो बेलासम्म कांग्रेसमा गिरिजाप्रसाद सर्वशक्तिमान थिए। तर कांग्रेस हारेको चुनावपछी कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए।

देउवा फुल्छन्, कांग्रेस खुम्चिन्छ
नेतृत्वको असक्षमताका कारण कांग्रेसले चुनाव हारेको आरोप लागिरहेका बेला नेतृत्व गर्ने देउवा संसदीय दलको नेतामा भारी मतले विजयी हुनुलाई अर्थपूर्ण रुपमा हेर्छन् कांग्रेसकै नेताहरु। २०४८ यताका तथ्यलाई केलाउँदा कांग्रेस खुम्चिँदा देउवा भने फुल्ने गरेका छन्।

हरेक पटक कांग्रेस खुम्चँदा देउवा फुलेका छन्। उनी प्रधानमन्त्री र गृहमन्त्री भएर गराएका २०५१ सालको मध्यावधि र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस हारेको छ।

सांसदहरुमा विकृतिको वीजारोपण उनकै पालामा सुरु भएको आरोप अन्य दलले लगाइरहेका छन्। उनी प्रधानमन्त्री भएको बेला कांग्रेस पनि फुटाएका छन्। कांग्रेसका युवा नेता प्रदीप पौडेल पार्टी भित्र कमजोर प्रतिपक्ष भएका कारण देउवा शक्तिशाली भएको बताउँछन्। देउवा सत्ता र शक्तिको लागि जेसुकै गर्न सक्ने नेता भएको बताउँछन् युवा नेता पौडेल।

‘पार्टी भित्रको प्रतिपक्ष कमजोर छ, त्यसकारण उहाँ मनपरी गर्न सक्ने हुनु भएको छ,’ उनी भन्छन्,‘तर जनतामाझ उहाँ बलियो हुनुहुन्न।’ युवा नेता पौडेल संसदीय दलमा आफैँले बनाएका मतदाताले भोट हाल्ने भएका कारण देउवा शक्तिशाली देखिएको बताउँछन।

‘उहाँले एकलौटी रुपमा समानुपतिक संसद बनाउनुभयो, प्रत्यक्षमा पनि आफैले टिकट बाँड्नुभयो,’ पौडेल भन्छन्, ‘आफैँले बनाएका मतदाताले भोट हालेर संसदीय दलमा धेरै मत आएको देखिएको हो।’

संसदीय दल पौडेलले पार्टीको नेतृत्व, संगठन र सिद्धान्तको रुपान्तरण गर्नुको विकल्प कांग्रेससँग नरहेको पौडेल जिकिर गर्छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कांग्रेसको हारमा धेरै कारण रहेको बताउँछन्। उनी आन्तरिक बाह्य दुवै कारणले कांग्रेस हारेको बताउँछन्। शर्मा देउवाकै नेतृत्वमा तीनवटै निर्वाचन भएर संविधान कार्यान्वयन सफल भएको जश पनि दिन्छन्।
(अन्नपूर्ण पोस्ट दैनिक)

More News last news
Loading...