तीन वर्षसम्म सडक अलपत्र, ठेक्का तोड्न मन्त्रीसँग अर्जुनचौपारी गाउँपालिका अध्यक्षको माग

स्याङ्जा । ठेक्का सम्झौता भएको वर्षौँ बित्दा पनि सडक निर्माण पूरा नभएपछि अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले निर्माण कम्पनीमाथि कारबाही गर्न मन्त्रीसँग गुहार मागेका छन्।

तीनवटा वडा कार्यालय जोड्ने महत्वपूर्ण रणनीतिक सडकको भँगारी खण्डमा १ हजार ८०० मिटर कालोपत्रे गर्ने काम तीन वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष ०८०/८१ भित्रै सम्पन्न गर्ने गरी ठेक्का पाएको रुप/मिलन/लेभल वान जेभी ले पटक–पटकम्याद थप्दा पनि काम पूरा गरेको छैन। पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन र गाउँपालिकाले पटक–पटक ताकेता गर्दा समेत निर्माणले गति नलिएपछि अध्यक्ष तिवारीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री सुनील लम्सालसँग ठेक्का तोडेर कारबाही गर्न मागगरेका हुन्।

Advertisement

सडकको माथिल्लो र तल्लो खण्ड गाउँपालिकाले आफ्नै बजेटबाट निर्माण गरिसकेको छ। तर बीचको खण्ड अधुरै रहँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। ‘अब रुखमा बाँधेर काममा लगाउने हो कि ठेक्का तोडेर कारबाही गर्ने हो ?’ भन्दै अध्यक्ष तिवारीले जनतालाई वर्षौँसम्म सास्ती दिने निर्माण कम्पनीमाथि कठोर कदम चाल्न मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

More News last news
Loading...