साहसको कीर्तिमान: ३२३ दिन पैदलै हिँडेरै मलेसिया पुगे नेपाली युवा

काठमाडौं । नेपाली विश्व पैदल यात्री रविन सुनार पैदल यात्रा गरेरै मलेसिया पुगेका छन्। घरबाट यात्रा प्रारम्भ गरेको ३२३ औं दिनमा थाइल्याण्डको सीमा पार गर्दै मलेसिया प्रवेश गरेका उनी पादाङ बेसार (Padang Besar) नाका हुँदै हाल जित्रा (Jitra) सहरतर्फ अघि बढेका छन्।

​धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३, मूलपानीका ३१ वर्षीय रविनले काठमाडौंको पवित्र धार्मिक स्थल भगवान पशुपतिनाथको दर्शन गरी भारतको प्रसिद्ध केदारनाथ धाम पुगेर आफ्नो ऐतिहासिक विश्व पैदल यात्राको औपचारिक सुरुवात गरेका थिए। यात्राका क्रममा उनले भारत, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड गरी चार देशहरू पैदलै पार गर्दै मलेसियाको भूमिमा पाइला टेकेका हुन्।

Advertisement

​यात्राका क्रममा विशेष गरी म्यानमार र थाइल्याण्डमा रहेका नेपाली समुदायबाट आफूले अभूतपूर्व साथ, सहयोग र न्यानो आत्मीयता पाएको उनले बताएका छन्। परदेशमा रहेर पनि प्रवासी नेपालीहरूले देखाएको यो मायाले आफ्नो मनोबल झनै बढाएको रविनको भनाइ छ। मलेसिया प्रवेश गरेसँगै उनले त्यहाँ कर्मथलो बनाएर बसिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेका छन्।

​भौगोलिक चुनौती, मौसमको उतारचढाव र विभिन्न देशका कानुनी प्रक्रियाहरूलाई पार गर्दै ३२३ दिनको लामो यात्रापछि मलेसिया पुगेका ३१ वर्षीय युवा रविनको साहस र दृढताको सर्वत्र प्रशंसा भइरहेको छ। विश्वसामु नेपाल र नेपालीको पहिचान उच्च बनाउने उद्देश्यका साथ सुरु भएको उनको यो पैदल यात्रा आगामी दिनमा पनि जारी रहने भन्दै रबिनले नयाँ पुस्ता डट कम मार्फत मलेसियामा रहेका नेपाली सहित आफूलाई विश्वभरबाट साथ सपोर्ट गर्न आग्रहसमेत गरेका छन्।

More News last news
Loading...