अर्जुनचौपारीको नीति कार्यक्रम : नवग्रहदेखि स्पोर्ट्स टुरिजमसम्म

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पर्यटन, संस्कृति, कृषि, शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँसभाको १९ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धार्मिक, आरोग्य, शैक्षिक तथा खेल पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि सारेको हो ।

Advertisement

गाउँपालिकाले पछिल्ला वर्षहरूमा नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटनको उल्लेखनीय विकास गरेको दाबी गरेको छ। अध्यक्ष तिवारीका अनुसार हाल अर्जुनचौपारीमा मासिक करिब ३० हजार पर्यटक भित्रिने गरेका छन्, जसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्थानीय रोजगारी, पहिचान र सम्मान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। नयाँ नीति अनुसार धार्मिक पर्यटनलाई थप विस्तार गर्न ‘नवग्रह धार्मिक होमस्टे कार्यक्रम’ सञ्चालन गरिनेछ। नवग्रह मन्दिरको दिगो व्यवस्थापन, आवश्यक पूर्वाधार विकास तथा प्रचारप्रसारका लागि प्रदेश सरकारसँग रणनीतिक सहकार्य गरिने जनाइएको छ।

पर्यटन क्षेत्रलाई बहुआयामिक बनाउने उद्देश्यले गाउँपालिकाले Mathematical and Botanical Outdoor Learning Center, नवग्रह मन्दिर, दरौं थाप्ले, डहरे देउराली, एकानन्द गुफा, रापाकोट कालिका तथा लामडाँडा होमस्टेलाई समेटेर पर्यटकीय पदमार्ग निर्माण गर्ने घोषणा गरेको छ। उक्त पदमार्गलाई शैक्षिक, आध्यात्मिक तथा प्रकृतिमूलक अध्ययन केन्द्रका रूपमा विकास गरी विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटक आकर्षित गर्ने लक्ष्य छ।

त्यसैगरी वडा नं. ५ थाप्लेस्थित निर्माणाधीन १९०७ एरिना क्रिकेट मैदानलाई ‘हाई अल्टिच्युड स्पोर्ट्स टुरिजम हब’ का रूपमा विकास गरिने भएको छ। क्रिकेट मैदान निर्माण सम्पन्न गरी फ्रेन्चाइज आधारित क्लब क्रिकेट प्रतियोगिता सञ्चालन गरेर अर्जुनचौपारीलाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने योजना सार्वजनिक गरिएको छ। आरोग्य पर्यटनलाई समेत प्राथमिकतामा राख्दै आयुर्वेद शाखामार्फत स्थानीय जडीबुटीमा आधारित औषधि उत्पादनलाई व्यावसायिक ब्राण्डिङसहित राष्ट्रिय बजारमा विस्तार गरिने भएको छ। साथै साउण्ड हिलिङ सेन्टरको विकास तथा विस्तार गरी प्रदेश सरकारसँगको सहकार्यमा आरोग्य पर्यटनलाई संस्थागत रूप दिइने नीति लिइएको छ।

गाउँपालिकाले विकासको नाममा गाउँलाई सहर बनाउने होइन, गाउँको मौलिकता संरक्षण गर्दै आत्मनिर्भर र समृद्ध गाउँ निर्माण गर्ने अवधारणा अघि सारेको छ। “गाउँलाई यति उत्कृष्ट र मौलिक बनाउने हो कि सहर आफैँ गाउँको अगाडि फिक्का लागोस्” भन्ने मूल नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। कृषि तथा पशुपालनलाई आर्थिक समृद्धिको आधार मान्दै रैथाने बीउ, परम्परागत बाली, प्राङ्गारिक खेती तथा पहाडे गाई संरक्षणलाई प्राथमिकता दिइएको छ। उत्पादनशील क्षेत्रमा सक्रिय परिवारलाई विद्युत् महसुल छुट, स्वास्थ्य बीमा, बीउ पूँजी तथा अन्य प्रोत्साहनात्मक सुविधाको व्यवस्था गरिने भएको छ।

शिक्षातर्फ विद्यालयहरूमा एआई आधारित सिकाइ कार्यक्रमलाई निरन्तरता दिइने, संस्कार शिक्षा, योग, वैदिक सदाचार तथा बुद्धका पञ्चशीलमा आधारित पाठ्यक्रम लागू गरिने जनाइएको छ। स्वास्थ्य क्षेत्रमा ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रम विस्तार गर्दै मानसिक स्वास्थ्य तथा विद्यालय स्वास्थ्य कार्यक्रमलाई थप सुदृढ बनाइने भएको छ। साथै स्थानीय कला, संस्कृति, रोदी प्रथा, पर्म, गुठी तथा रैथाने मेलापर्वहरूको संरक्षण र पुनरुत्थानका लागि “गाउँलाई गाउँमै फर्काउने : मौलिक अर्जुनचौपारी अभियान” सञ्चालन गरिने घोषणा गरिएको छ।

अध्यक्ष तिवारीले नीति तथा कार्यक्रमले अर्जुनचौपारीको मौलिकता, संस्कृति, पर्यटन, उत्पादनशील अर्थतन्त्र र सुशासनलाई केन्द्रमा राखेर आत्मनिर्भर गाउँ निर्माणको मार्गचित्र प्रस्तुत गरेको बताए।

More News last news
Loading...