पोखरा । कास्कीको रुपा गाउँपालिका–५,रामदीका ३१ वर्षका प्रहरी सहायक हवलदार अमृत गुरुङको मंगलबार जेन–जीले अगुवाई गरेको आन्दोलन पछिको प्रदर्शनका क्रममा मृत्यु भएको छ । गुरुङ समुदायको संस्कृति अनुसार उनको कास्कीमा शनिबार अन्त्येष्टि गरिएको छ।
परिवारका एक मात्र छोरा गुरुङ २०७० असोज १५ गतेदेखि नेपाल प्रहरीको सेवामा थिए । पाल्पा, मुगु, सुर्खेत हुँदै दुई वर्षदेखि काठमाडौंमा कार्यरत थिए । प्रहरी प्रभाग कोटेश्वरमा सेवामा रहेकै समयमा उनलाई प्रदर्शनकारीले कुटपिट गरी मारेका हुन् । उनी भाग्न खोज्दासमेत बाच्न सकेनन् । साढे एक बजे अस्पताल पुर्याइएका उनलाई अस्पताले ४ बजेर ४५ मिनेटमा मृत घोषणा गरेको थियो। परिवारले भोलिपल्ट मात्र उनको मृत्युको खबर पाएको हो।
९ महिना अघिमात्र ब्रेन ह्यामरेजका कारण आमा गुमाएका उनी पारिवारिक ऋणको भारमा पनि थिए । ऋण खोजेर आमाको उपचार गरेका उनको परिवारको २३ लाख जति ऋण छ । उनको गाउँमा आफ्नै घरसमेत छैन । सरल र इमानदार गुरुङ आफन्तको घरमा बस्दै आएका थिए ।
उनकी एक बहिनी र एक दिदीको बिहे भइसकेको छ । पारिवारिक जिम्मेवारीका कारण उनले १० पास भएपछि प्रहरी सेवाको जागिर रोजेको थिए । उनको घरमा एक वर्षका छोरा छन् । हजुरबुबा श्रीमती, बुबाको जिम्मेवारीसँगै बच्चाको लालनपालनको खर्च समेत उनको जिम्मेवारी थियो । उनको मृत्युसँगै घरको मियो ढलेको छ । कान्तिपुरबाट शब्द साभार
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
