बुटवल | झण्डै दुई महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन तीन अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान भरेका छन् । मंसिरमा दैनिक पाँच वटासम्म अन्तर्राष्ट्रिय उडान भए पनि खराब मौसमको कारण देखाउँदै विमान कम्पनीहरूले उडान रोकेका थिए।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहीबार कुवेतको जजिरा एयरवेज, यूएईको फ्लाइ दुबई र थाइल्याण्डको थाई एयर एसियाले उडान भरेका हुन् । महाप्रबन्धक तिवारीका अनुसार तीनवटै विमानले ४५२ यात्रु लिएर आएका छन् ।
एकै दिन तीन अन्तर्राष्ट्रिय उडान भएपछि विमानस्थलले पुनः गति लिन थालेको छ । उनका अनुसार प्रतिकूल मौसमले कम भिजिबिलिटी हुँदा यहाँ नियमित उडान हुन सकेका थिएनन् । जजिरा एयरबाट १०२ यात्रु भैरहवा ओर्लिएका छन् ।
सोही जहाजमा १४९ जना यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए । त्यस्तै, थाई एयर एसियाबाट १२८ यात्रु उडेका छन् । उनका अनुसार दुबईबाट आएको फ्लाइ दुबईबाट ४४ यात्रु भैरहवा ओर्लिएका छन् भने, २९ जना यात्रु भैरहवाबाट उडेका छन् ।
नेपाल एयरलाइन्सले हप्तामा नियमित चार दिन उडान गरिरहेको छ । विमानस्थलमा कम भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने भएको छ । माघ १० गतेदेखि भैरहवा विमानस्थलमा भू–उपग्रहमा आधारित अवतरण विधि ‘आरएनपी–एआर’ लागू भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
