खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो। नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन्।
“तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ। यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ। यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ।”
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ। मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार-पाँच महिना बसेर ध्यान गर्ने गरेका छन्।
त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिंगापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन्। यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौंको संख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिंग र पार्वतीको मन्दिर छ। हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ। गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
