काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ। चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन्।
चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘चिन्दिनँ’ भनेपछि आवेशमा आरोपीले चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चन्द्रबहादुरले बयानमा भनेका छन्, ‘सरुसँग पहिलादेखि नै चिनजान थियो, मैले विदेशबाट रकम पनि पठाइरहेको थिएँ ।’
युवतीले ‘बेवास्ता’ गरेपछि उनीहरूको बिचमा विवाद भयो । थानकोट बजारमा सरुको बहिनीको तरकारी पसल छ । पसलमा उनलाई भेटेर आरोपीले चक्कु प्रहार गरे । घाइते सरुलाई सुरुमा सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा लगिएको थियो । मेड प्वाइन्टले रिफर गरेपछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
