एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ। कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जीउने मान्छे भएको बताउनुभएको छ। कार्टरले सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउसमा हुनुहुन्थ्यो । उहाँ अमेरिकाको ३९औँ राष्ट्रपति हुनुहुन्थ्यो।
कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति बन्नुभएको छ । उहाँको एक सामान्य किसानबाट राष्ट्रपतिसम्मको यात्राबारे चर्चा भइरहेको खबरमा उल्लेख छ ।
राष्ट्रपतिको कार्यकाल पछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवर्द्धन गतिविधिहरूमा समर्पित गरेर सन् १९८२ मा कार्टर फाउन्डेसन स्थापना गर्नुभएको थियो ।
फाउन्डेसन मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । यही कामले उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलाएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
