आज विश्वकर्मा पूजा, इन्द्रजात्रा पर्व पनि मनाइँदै

काठमाडौं । आज असोज १ गते विश्वकर्मा पूजा मेशिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । यस पर्वमा शिल्पका संकाय, कारखाना तथा उद्योगहरूमा पूजाअर्चना गर्ने गरिन्छ भने भजन किर्तन तथा नाचगान पनि गर्ने गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा दिवस मनाउने परम्परा रहेको छ।

विश्वकर्मा दिवस नेपाललगायत पूर्वोत्तर भारत र बंगाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गर्ने चलन छ।

Advertisement

आज इन्द्रजात्रा पर्व पनि मनाइँदै

काठमाडौं उपत्यकामा आज प्रसिद्ध इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ । विशेषगरि काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्रजात्रा मनाउने गरिन्छ ।

यस जात्राको अवसरमा आज काठमाडौंको बसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा गरिंदैछ । रथयात्रा शुरु हुनुअघि राष्ट्रप्रमुखबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने कार्यक्रम रहेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

यो जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाउने गरिन्छ । लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पतन’ गरी ‘भरणी नक्षत्र’ को रातमा लिङ्गो ढाल्ने चलन रहेको छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

More News last news
Loading...