आजदेखि रातिमा नौबिसे–मलेखु सडक बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए । गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको छ ।

Advertisement

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय) मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ ।

More News last news
Loading...