काठमाडौँ । भारतबाट नेपाल आएर लुटपाटमा संलग्न दुई भारतीय पक्राउ परेका छन्। नेपालमा लुटपाटमा संलग्न रहेका दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन्। दुवैलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुलाई सुनको सिक्री लुटेर भाग्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरुले पोखरामा करिब १ तोलाको सुनको सिक्री लुटी भाग्न खोजेका थिए।
प्रहरीका अनुसार पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटेर भाग्न खोजेका थिए। तर उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
