काठमाण्डौ । सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले तत्कालीन अबस्थामा च्याम्पियन फुटवेयरका नाममा गएर अहिले चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो।
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर भएकोले जग्गा सरकारीकरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो। सीआइबीको सहयोगमा आफुहरुले थप अनुसन्धान गरेर आज अन्तिम टुङ्गो लगाएको उहाँले बताउनुभयो।
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख नेपालीकाअनुसार २०२१ सालको फिल्डबुकले त्यो जग्गा बाँसबारी छाला जुत्ता उद्योगको रहेको देखिन्छ । यस्तै २०३७ सालमा बाँसबारी छालाजुत्ता उद्योगको नाममा दर्ता स्रेस्ता कायम भएको थियो।
२०४४ भदौ ५ गते छ रोपनी र २०४४ साल मंसिर १८ गते चार रोपनी गरी १० रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
