काठमाडौँ । अनलाइन पत्रकार संघले लोककल्याणकारी विज्ञापनमा प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बनेको आरोप लगाएको छ । काउन्सिलले मंगलबार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति संघले आपत्ति जनाएको हो ।
आजको युग सूचना प्रविधिको भएको भन्दै पछिल्लो समय अन्य सञ्चारमाध्यम भन्दा अनलाइन र विद्युतीय पत्रकारिताको दायरा थप फराकिलो बन्दै गइरहेको सन्दर्भमा देशमा आर्थिक संकट बढिरहेको विषम परिस्थितिमा पत्रपत्रिकासहित अन्य विद्युतीय र अनलाइन सञ्चारमाध्यमहरु पनि चरम संकटमा रहेको संघका सचिव गोविन्द मरासिनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिल नेपालले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यू मिडियालाई बेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको संघको ठहर छ ।’
संघले अन्त्यमा भनेको छ, ‘तसर्थः सञ्चारमाध्यमको नियामक निकायले आगामी दिनमा सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन र प्रवर्धनमा गम्भीर बन्न र सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न संघ जोडदार माग गर्दछ।’

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
