काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ पानीघाटनजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। काठमाडौँबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा काठमाडौँको मैतीदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको उनले बताए।
प्रहरीका अनुसार दुर्घटना अपराह्न १ः५५ बजेको समयमा भएको थियो। गाडीमा ६ जना सवार थिए। स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
