स्याङ्जा l स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक्रमको सुरुवात गरेका छन् । सांसद थापाले आफ्नो क्षेत्रको अर्जुनचौपारी गाउँपालिकाबाट कार्यक्रमको सुरुवात गरेका छन् । अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका राजनैतिक दलका जनप्रतिनिधि, स्थानीय प्रतिनिधि, आम सर्वसाधारण जनताको ठूलो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनताहरुले सांसद थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न क्षेत्रका समस्याहरु सुनाएका थिए । सडक निर्माण, बाँदर समस्या, सुन्तला खेतीले मूल्य नपाएको, बेरोजगारी समस्या भएको लगायतका विषयहरु उठेका थिए । उठेका प्रश्नहरुको सांसद थापाले एक एक गरी उत्तर दिएका थिए ।
जनताका चासो र गुनासोहरुलाई सम्बोधन गर्दै सांसद थापाले सङ्घीय सांसदका तर्फबाट जनताका मूलभूत समस्याका विषयमा निरन्तर संसदमा कुरा उठाएको बताए । उनले जनप्रतिनिधिका दृष्टिले आफूले जनताका सरोकारका विषयलाई संसदमा उठाउँदै आएको बताउँदै भविष्यमा पनि उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति नगर्ने पनि बताए ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले स्थानीय पालिकाले गर्न सक्ने विकास निर्माणका काम गरिरहेको र प्रदेश तथा सङ्घसँग सम्बन्धित भएर गर्नुपर्ने काममा सांसद थापासँग मिलेर काम गर्ने बताए । थापाको सचिवालयले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन अर्जुनचौपारी गाउँपालिकाले गरेको थियो
कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका प्रतिनिधिहरुले पनि समस्याहरु राखेका थिए । कार्यक्रमको सञ्चालन थापाका स्वकीय सचिव समेत रहेका नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय बोर्ड सदस्य कुमबहादुर गुरुङले गरेका थिए । अर्जुनचौपारी गाउँपालिकाबाट शुरु गरिएको कार्यक्रम क्षेत्र नं १ का सबै पालिकाहरुमा क्रमशः गरिने सांसद थापाको सचिवालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
