काठमाडौँ । धनगढीमा एक यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीले कानूनी मान्यता (विवाह दर्ता) पाएको छ । विवाह दर्ता लगत्तै निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर सो नवविवाहित जोडीले विवाह दर्ता बारे जानकारी दिएका छन् ।
करिब ४ वर्ष अघि नै विवाह गरेपनि विवाह दर्तालाई प्रशासनले मान्यता नदिएपछि पिंकी गुरुङको नेतृत्वमा १० जनाको समुहले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो ।
कैलाली गाउँपालिका–८ कैलालीका प्रकाश चौधरी (नाम परिवर्तन) र तुलसीपुर उपमहानगरपालिका-९ दाङकी मलिना शर्मा (नाम परिवर्तन) बीच विवाह भएको चार वर्षपछि विवाहले कानूनी मान्यता (वि.स. २०८० पुस ६ गते) मात्रै पाएको हो।
समाजकी अध्यक्ष गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यको विवाहले यसरी मान्यता पाउनु ठुलो उपलब्धि भएको बताइन् । उनले, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अझै यस्ता धेरै आधारभूत समस्या रहेको भन्दै त्यसमा सफल हुन समाज र समग्रमा सबै व्यक्ति चनाखो भएर लाग्नुपर्ने बताइन् ।
गत १२ असारमा सर्वाेच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् । यसअघि लमजुङमा भएको विवाह दर्तालाई “सर्वोच्चको आदेश बमोजिक अस्थायी अभिलेख” भनि विवाह दर्ता गरिएको भएपनि कैलालीको यो विवाह दर्तालाई भने प्रशासनले स्थायी विवाह दर्ताकै मान्यता दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
