पशुपतिनाथमा बालाचतुर्दशी पर्वका लागि तयारी पूरा

काठमाण्डाै । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतवार रातिदेखि शुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाएर संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने ठाउँमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ।’

Advertisement

यसैगरी मृगस्थलीभित्र मृग राखेको ठाउँमा पनि शतबीज छर्ने परम्परा भएकाले मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनाएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।

जाँडरक्सी बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँठाउँमा सीसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्यसचिव खत्रीले बताउनुभयो । यसैगरी पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि शुरु हुने बालाचतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

पर्सि सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ । कोषले कैलाश चौरमा पाल राखेर बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोरक्षेत्र, हंशमण्डप, चौरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

More News last news
Loading...