महानगरले ल्यायो कडा नियम, अब सूर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौं । मंसिर २७ गतेदेखि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।

सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपरागत वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सूचना मार्फत जानकारी दिएका छन् ।

Advertisement

यस्तै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने समेत सूचनामा उल्लेख छ । उनले भनेका छन्, ‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौं, २९ औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सूर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौं ।’ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था गरेको उनले बताए ।

‘सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो,’ उनले भने, ‘ऐनले सार्वजनिक स्थलहरूको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।’ सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ ।

More News last news
Loading...