डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द

काठमाण्डाै । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ।गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए ।

Advertisement

सङ्घका महासचिव डा सञ्जिव तिवारीले विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको ज्यान जानुकाे कारण खुलाउन पनि आग्रह गर्नुभएको छ । निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए।

निमोनियाको सङ्क्रमणको उपचारका लागि उनीहरु दुवै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पताल निर्देशक डा रवि शाक्यले बताउनुभयो । औषधि चलाएको केही समयमै बिरामीको ज्यान गएकाले आफन्तले शङ्का गरेका भए पनि औषधिकाे कारण नभइ गम्भीर खालको निमोनियाका कारण उनीहरुकाे ज्यान गएको शाक्यले बताउनुभयो ।

यसैबीच पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले आजदेखि आकस्मिकबाहेकका सेवामा उपस्थित नहुने घोषणा गरेका छन् । चिकित्सिकहरुले विज्ञप्ति निकालेर कुटपिटको विरोधमा आजदेखि सेवा बन्द गर्ने जानकारी गराएका हुन् । दोषीलाई प्रचलित ऐन अनुसार कारबाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले बताएका छन्।

More News last news
Loading...